
गौतम वुद्ध नेपालमा जन्मे पनि उनको दर्शन र धर्मको प्रचार संसारभरि फैलिएको छ । वुद्धका विचार र दर्शनमात्रै होइन, विभिन्न अवशेष र शालिक समेत विभिन्न देशमा छरिएका छन् । यसैक्रममा पाकिस्तानको लाहोरस्थित भव्य म्युजियममा गौतम वुद्धका आश्चर्यजनक मूर्तिहरु सजाइएका छन् ।
लाहोर म्युजियम पूर्वीय सभ्यताका पुराना अवशेषहरुले सजिएको पुरातात्विक महत्वको संग्रहालय हो । यो संग्रहालयमा सिन्धु घाँटीको सम्यतासँग जोडिएका मानवीय एवं भौतिक वस्तुहरुको अवशेष पनि हेर्न पाइन्छ । आर्य सभ्यताको केन्द्र मानिने सिन्धु नदी यतिबेला पाकिस्तानमै पर्छ ।
ईशापूर्वमै विकसित भएको मोहन्जोदारो र हरप्पा सभ्यताको अवशेषले लाहोर म्युजियम सजाइएको छ । सो म्युजियममा ५ हजार वर्ष पहिलेका वस्तुका साथै गौतम वुद्धका विभिन्न प्रकारका मूर्तिसमेत सजाएर राखिएका छन् ।
बुद्धका केही मूर्तिहरु सग्ला छन् भने केहीचाँहि टुटेफुटेका छन् । कतिपय मूर्तिको घाँटी काटिएको छ भने कतिपय मूर्तिहरुको हात छिनालिएको छ ।
त्यसो त फास्टिङ गरेको बुद्धको दुब्लो, पातलो एवं हाड छाला मात्रै अंकित मूर्ति पनि लाहोर म्युजियममा हेर्न पाइन्छ ।
भारतले आफ्नो भूमिमा नक्कली लुम्बिनी खडा गरेको चर्चा पनि नचलेको होइन । त्यसो त बुद्धले ज्ञान प्राप्त गरेको गया पनि भारतमै भएकाले उसले पनि बुद्धलाई धार्मिक पर्यटकीय दृष्टिले प्रचार गर्नु स्वाभाविकै छ ।
तर, पाकिस्तानले पनि वुद्धका त्यस्ता पुरातात्विक सामाग्री आफूले प्राप्त गरेको छ, लाहोर म्युजियममा पुगेर ती सामाग्रीको अध्ययन गर्न बुद्धसम्बन्धी अध्येताहरु बाध्य छन् ।
लाहोर म्युजियम पाकिस्तानको पञ्जाव प्रान्तमा पर्छ । पाकिस्तानको ‘कल्चरल सीटी’ का रुपमा परिचित यो शहर भारतको सीमानाक्षेत्रमा पर्छ । लाहोरमा रहेका ऐतिहासिक धरोहरहरु भारत र पाकिस्तान विभाजित हुँदा पाकिस्तानपट्टि परेका हुन् ।
वीरबल र अकबरको कथासँग जोडिएको अकबरको दरबार, साहाजहाँले (जीवित रानीलाई राख्न बनाइएको दरबार) रानीलाई राख्न बनाइएको शिश महलसमेत पाकिस्तानमै पर्छ । अंग्रेजले नष्ट गरेका शिखहरुको दरबार र मन्दिर पनि पाकिस्तानले सजाएर राखेको छ । यी सबै दृश्यसँगै पूर्वीय सभ्यताको केन्द्र बनेको छ, लाहोर संग्रहालय ।
5कसले तोड्यो बुद्धका मूर्ति ?
लाहोर संग्राहलयमा रहेका कर्मचारीहरु विभिन्न युद्धका क्रममा बुद्धका मूर्ति तोडफेड भएको बताउँछन् । यस विषयमा इतिहासविद डा. रमेश ढुंगेलसँग जिज्ञासा राख्दा उनी भन्छन्- ‘यी मूर्तिहरु विगतमा भारतमै थिए अफगानिस्तानदेखि भारतका विभिन्न भागमा बौद्ध सभ्यता थियो, अहिलेको पाकिस्तानमा पनि बुद्धका मूर्तिहरु प्रशस्तै बनेका थिए ।’
इतिहास तथा संस्कृतिविद ढुंगेलको थप विश्लेषण छ,- ‘विभिन्न समयमा मुगल सम्राटका साथै मध्यपूर्वबाट समेत हुने गरेका आक्रमणका क्रममा बुद्ध र हिन्दूहरुका मूर्ति तोडफोड हुने गरेका थिए ।
कुनै एउटा युग मा होइन, विभिन्न कालखण्डमा बुद्धका मूर्तिहरु तोडिएका हुन् । पाकिस्तान पनि विगतको बुद्धभूमि नै हो ।’
बोधिसत्व प्राप्त बुद्धको यो मूर्ति लाहोर म्युजियममा सजाइएको छ ।
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!