अफ्रिकाबाट एबोला भित्रिए नेपालमा उपचार नहुने - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » अफ्रिकाबाट एबोला भित्रिए नेपालमा उपचार नहुने

अफ्रिकाबाट एबोला भित्रिए नेपालमा उपचार नहुने

२८ साउन, काठमाडौं । अफ्रिकामा करिब हजारजनाको ज्यान लिइसकेको एबोला भाइरसको महामारी नेपालमा भित्रिएको अवस्थामा उपचार गर्न नसकिने रोग तथा नियन्त्रण महाशाखाले जनाएको छ । त्यस्ता बिरामीलाई राख्ने सरुवा रोग अस्पताल टेकुको आइसियुसमेत बिग्रिएको अवस्थामा छ । यतिबेला अफ्रिकाका नाइजेरिया, लाइबेरिया र सेरालियोनमा एबोला भाइरसका कारण एक हजारको हाराहारीमा मानिसहरुको मृत्यु भइसकेको छ । मानिसहरुको धमाधम मृत्यु हुन थालेपछि विश्व स्वास्थ्य संगठनले एबोलालाई महामारीको संज्ञा दिँदै सतर्कता अपनाउन विश्वका सबै देशलाई सचेत गराएको छ । नेपाल सरकारले भने एबोलाको महामारीबाट जोगिने कुनै प्रक्रिया अघि बढाएको छैन । के हो एबोला ? यो भाइरसको पहिचान सन् १९७६ मा सुडान र कंगोमा पत्ता लागेको हो । ती देशहरुमा एकाएक मानिसको मृत्यु हन थालेपछि विश्व स्वास्थ्य संगठनले वैज्ञानिकहरुको टोली पठाएर परीक्षण गर्दा यो भाइरसको पत्तो लागेको हो । विज्ञहरुका अनुसार यो भाइरसको संक्रमणले मानिसमा ज्वरो आउने, टाउको र घाँटी दुख्ने, खोकी लाग्ने, पेट दुख्ने र पखाला लाग्ने, वान्ता आउने र जीउ दुख्नेजस्ता लक्षणहरु देखिन्छन् । अन्त्यमा मानिसको कलेजो र मृगौलामा संक्रमण हुन गई रक्तश्राव हुने र मानिस मर्ने गर्दछ । तर, एबोलाको संक्रमण दुई दिनदेखि २१ दिन देखापरिसक्ने चिकित्सकहरु बताउँछन् । यो रोगको लक्षण अन्य रोगसँग मिल्दो देखिए पनि अफि्रका पुगेर फर्केको मानिसमा मात्रै यसको भाइरस देखिने डाक्टरले बताएका छन् । वैज्ञानिकहरु गरेको अनुसन्धानअनुसार अफि्रकामा एबोला भाइरस चमेरो, वनमान्छेलगायतका जंगली जनावरबाट मानिसमा सरेको हो । यद्यपि यो हावाबाट नभई संसर्ग एवं रगत र र्यालजन्य पदार्थबाट मात्रैबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो प्लेगजस्तो महामारीभन्दा कम खतरनाक सरुवा रोग हो । तयारीविहीन नेपाल सरकार अफि्रका वा कुनै पनि देशबाट नेपाल भित्रिने मानिसहरुको चेकजाँचका लागि अहिलेसम्म कुनै संयन्त्र बनाउन नसकेको रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताएका छन् । ‘अन्य मुलुकमा विदेशबाट आउनेहरुलाई सीमा नाका वा विमानस्थलमै स्वास्थ्य परीक्षण गर्ने प्रचलन छ, हाम्रो देशमाचाँहि बजेटको अभावले कुनै पनि नाकामा हेल्थ डेस्क राख्न सकिएको छैन’, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. बाबुराम मरासिनीले सञ्चारमाध्यममा भने, ‘हामीले पाँच करोड बजेड मागेका थियौं, अर्थमन्त्रालयले ४० लाख भन्दा बढी दिएन, यसले गर्दा नेपालमा ७/८ वटा नाकामा अहिलेसम्म हेल्थ डेस्क स्थापना गर्न सकिएको छैन । अफि्रकाबाट नेपाल फर्केका नागरिकमा एबोलाको संक्रमण देखएकिो अवस्थामा नेपालमा यसको उपचार हुन नसक्ने मरासिनीले बताएका छन् । ‘लक्षणको उपचारमात्रै गर्ने हो, सरुवा रोग भएकाले बिरामीलाई आइसुलेसनमा अलग्गै राखेर उपचार गर्नुपर्ने हुन्छ, उपचारमा संलग्न चिकित्सकले पनि नसरोस् भनेर ख्याल गर्नुपर्ने हुन्छ, डा. मरासिनीले भन्छन्-’धेरै बिरामी भयो भने आइसियुमा राख्ने हो, अरुसँगै राख्न मिलेन, अलग्गै आइसियुमा राख्नुपर्छ, यसका लागि हामीसँग टेकुमा सरुवा रोग अस्पताल छ तर, अहिले त्यहाँ आएसियु छैन ।’ डा. मरासिनीका अनुसार अफि्रकाबाहेक भारतको पुणेमा एबोलाको उपचार कक्ष स्थापना गरिएको छ, नेपालमा यसको डाइग्नोसिस छैन । कति नेपाली छन् अफ्रिकामा ? एबोलाको संक्रमण महामारी फैलिएका लाइबेरिया, नाइजेरिया र सेरालियोनमा नेपालीहरु के कति छन् भन्ने सरकारसँग तथ्यांक छैन । डा. मरासिनी भन्छन्- यसमा परराष्ट्रको धारणा के हो ? उसले त्यहाँ जानका लागि पासपोर्ट दिइराखेको छ, शान्ति सेनामा खटिएका सुरक्षाकर्मीबाहेक घर-घर के कति नेपालीहरु काम गरिरहेका छन् भन्ने हामीसँग तथ्यांक छैन । एबोलाबारे बैठकको तयारी यसैवीच रोग नियन्त्रण महाशाखाले बुधबार राजधानीमा विभिन्न मन्त्रालयका अधिकारीहरुलाई बोलाएर एबोलाको विषयमा छलफल गर्ने भएको छ । छलफलमा परराष्ट्र, वाणिज्य, गृह र राक्षा मन्त्रलयका समेत अधिकारीलाई निम्त्याइने मरासिनीले बताएका छन् । बैठकले कमसेकम अन्तरराष्ट्रिय विमानस्थलमा अस्थायी हेल्प डेस्क राख्ने बारे निर्णय दिन सक्ने बताइएको छ । विदेशबाट भित्रिने मासुबाटसमेत एबोला भित्रिन सक्ने भएकाले वाणिज्य मन्त्रालयको पनि यसमा ध्यान जानुपर्ने डा. मरासिनीको तर्क छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template