धादिङमा एउटै कोठाको भाडा एक लाख ३० हजार ! - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » धादिङमा एउटै कोठाको भाडा एक लाख ३० हजार !

धादिङमा एउटै कोठाको भाडा एक लाख ३० हजार !



एनपी न्यूज डटनेट, २१ साउन । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा व्यापारिक प्रयोजनका लागि एउटा कोठा भाडामा लिनु पर्दा कति लाग्छ होला ? ५ हजार, १० हजार वा बढीमा १५ हजार । सबैको यही उत्तर आउनसक्छ । पत्याउनै नसकिने दरमा एउटा कोठा भाडामा लागेपछि यतिबेला सदरमुकाम धादिङबेसीका बासिन्दा आश्चर्यचकित भएका छन् । सदरमुकाम धादिङबेसीस्थित जिल्ला बाल कल्याण बाल समितिको भवनमा फोटो स्टुडियो राख्नका लागि लिइएको भाडाले सबैलाई आश्चर्यमा पारिदिएको हो । जिल्ला प्रशासन कार्यालयको मूलगेट अगाडि रहेको बालकल्याण समितिको भवन तीन वर्षदेखि भाडामा लाग्दै आइरहेको छ । तीन वर्षअघि ८ हजार ५०० बाट सुरू भएको एक कोठे भवनको भाडा दर तेस्रो वर्षमा आइपुग्दा १ लाख ३० हजार ९० पैसा पुगेको छ । जिल्ला बाल कल्याण समितिले आयआर्जनका लागि बनाएको उक्त एक कोठे भवन स्थानीय फोटो स्टुडियो संचालक लालकाजी श्रेष्ठले टेण्डरमार्फत यो वर्ष १ लाख ३० हजार ९० पैसामा ठेक्कामा पाएका हुन् । तीन वर्षअघि राजनैतिक नेतृत्वबाट भनसुनमा मासिक ८ हजार ५०० रूपैयाँमा श्रेष्ठले फोटो स्टुडियोका लागि लिएकोमा अघिल्लो वर्ष टेण्डरमार्फत बालकृष्ण श्रेष्ठले ४५ हजार ६ सय ७८ रूपैयाँमा पाएका थिए । आफू बसिरहेको भवनमा टेण्डरमार्फत भाडा बढाएर बालकृष्णले फोटो स्टुडियो राखेका थिए । सदरमकुामको बजार क्षेत्रमा २० भन्दा बढी फोटो स्टुडियोबाट पासपोर्टको एमआरपी फाराम भर्ने काम हुँदै आइरहेको भए पनि जिल्ला प्रशासन कार्यालयको मूल गेटमै रहेको भवनमा सञ्चालित स्टुडियोमा फोटो खिचाउने र फर्म भर्नेहरुको घुइँचो लाग्ने गरेको एक फोटो स्टुडियो संचालकले बताए । पासपोर्टको फाराम भर्न आउने सेवाग्राहीसँग फोटो स्टुडियोहरुले फोटो र फारामको शुल्क भन्दै प्रतिव्यक्ति ३५० रूपैयाँसम्म लिँदै आइरहेका छन् । बजारको अन्य स्थानमा भन्दा बालकल्याणको भवनमा कारोबार बढी हुने भएकाले जोखिम मोलेर आफूले मासिक १ लाख ३० हजार ९९ पैसामा टेण्डर लगाएर भवन भाडामा पाएको लालकाजी श्रेष्ठ बताउँछन् । बजारको मूख्य चोकहरुमा रहेको घरमा व्यापारिक प्रयोजनका लागि कोठा भाडामा दिँदा ३० हजार रूपैयाँ लिँदा महँगो भएको जनगुनासो आए पनि सरकारी भवनभित्र अव्यवहारिक भाडा लाग्दा पनि कसैले विरोध नगर्नु जायज नभएको सर्वसाधारणको गुनासो छ । सरकारी निकायले नै खुला आह्वान् गरेर एउटा कोठाको भाडा १ लाख ३० हजार कायम गरिदिएपछि भोली भवन भाडामा लिने व्यवसायीले आंफु घाटामा गएको वहानामा सेवाग्राहीसँग मनोमानी शुल्क लिन सक्ने सर्वसाधारणको आशंका छ । जिल्ला बाल कल्याण समितिका बाल कल्याण अधिकृत हरि उप्रेती भवन भाडामा लगाउने कार्य तीन वर्ष अघिबाट सुरू गरिएको र प्रत्येक वर्ष टेण्डर आह्वान गर्दा व्यवसायीहरुले नै बढाएर राख्ने गरेकाले महँगो हुन पुगेको बताउँछन् । जिल्ला बाल कल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल रहेका छन् । टेण्डर आह्वान् गर्दा अघिल्लो वर्षको दरमा नघटाई आह्वान् गरिएकोमा प्रतिस्पर्धामा आउनेले राखेकोमध्ये सबैभन्दा बढी रकम कबोल गर्नेलाई समितिले तोकेबमोजिमको मापदण्डमा रही व्यवसाय गर्ने गरी ठेक्कामा दिएको समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template