यसरी गर्नुस् दाँत र मुखको सफाइ - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » यसरी गर्नुस् दाँत र मुखको सफाइ

यसरी गर्नुस् दाँत र मुखको सफाइ



















हाम्रोजस्तो गरिब मुलुकमा मुख एवं दाँतको स्वास्थ्य गौण बन्नु स्वाभाविक मान्न सकिएला। निकै ठूलो रोग नलागी अस्पताल नजाने प्रवृत्ति भएको हाम्रो जस्ता देशमा दाँत र मुखलाई प्राथमिकता दिने कुरा पनि 
नआउँला। प्राय: नेपालीका दाँत २०-२२ वर्षको उमेरमै दुई र ४०- ५० वर्षको उमेरमा पाँचवटा झरिसकेको, मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत कीराले खानेजस्ता दाँतका समस्या सामान्य कुरा नै भएका होलान्। तर त्यसले शरीर, नाम, काम, व्यक्तित्वमा पारेको नकारात्मक प्रभावमा हामी कति सचेत छौ त्यो नै आजको महत्त्वपूर्ण बिषय हो।

विश्‍व स्वास्थ्य संगठन र एफडीआईका अनुसार विश्‍वका ९० प्रतिशतभन्दा बढी मानिसहरू जीवनकालमा दन्तसडन, हर्षादेखि मुखको क्यान्सरसम्मका मुखका कुनै रोगबाट पीडित हुने गर्दछन्। ८० देखी ९० प्रतिशत स्कुले विद्यार्थीमा दन्तसडन छ। विद्यालयमा अनुपस्थिति हुनुको एक नम्बरको कारणमा दातको दुखाइ छ। बढ्दो चिनी सेवन नै प्रमुख कारक बनेको छ। हरेक एक लाख जनसंख्यामा एकदेखि १० जनामा मुखको क्यान्सर छ, जुन विश्‍वमा बढी पाइने क्यान्सरमा आठौं छ र सबैभन्दा महँगो रोगमा पर्दछ। नेपालमा त झनै पुरुषमा एक र महिलामा तेस्रो नम्बरमा छ। विश्‍वका ६० प्रतिशत जनताको पहुँचमा भएको दन्तचिकित्सामा धेरै आम्दानी भएका राष्ट्रहरूमा समेत सार्वजनिक स्वास्थ्यमा हुने खर्चको १० प्रतिशत हिस्सा जाने गरेको छ।

विश्‍वमा भएका एक लाख बढी दन्तचिकित्सकको वितरण पनि समान छैन। हरेक ६ हजार जनसंख्यामा एक दन्तचिकित्सक हुनुपर्नेमा विकसित देशमा हरेक दुई हजारमा एक छन् भने गरिब र आवश्यकीय क्षेत्रमा तीन लाख जनसंख्यामा एकजना दन्तचिकित्सक पनि उपलब्ध छैनन्। मेडिकल काउन्सिलमा दर्ता भएका एक हजार चार सय दन्तचिकित्सकमा पनि पाँच सयभन्दा बढी पलायन भइसकेका छन् भने भएकामा पनि ९० प्रतिशत बढी उपत्यकामै सीमित छन् र गाउँघरमा त शून्य नै छ।

सरकारीमा दरबन्दी पाँच दर्जन छैन, त्यसैमा दुई दर्जनमात्र कार्यरत छन्। २०५७ सालमा सुरु भएको मोफसल तथा गाउँघर केन्द्रित हाइजिनिस्ट पनि काठमाडौं तथा सहर केन्द्रित छन्, नियमविपरीत स्वास्थ्यसंस्था खोल्न र बिरामीका उपचार गर्न व्यस्त छन्। सबैभन्दा विकसित देश अमेरिकामा समेत हरेक वर्ष तीनदेखि चार लाख अमेरिकनहरू एन्जाइटी र डरले गर्दा दन्तचिकित्सा सेवा लिँदैनन् भने हाम्रो देशको रोगको प्रकोपता तथा सेवा नलिने अवस्था अझै भयानकता छ भन्नेमा कसैको विमति रहँदैन।

पैसाकै आधारमा डाक्टर बन्ने मानसिकताले प्रायमा सीप, ज्ञान, सञ्चार, मानवीय संवेदना र सेवाभावना नभएको जनगुनासो बढ्दो छ। नियममा बस्दा तथा मान्दा विभिन्‍न बाधा व्यवधानमा पर्न सक्ने कारणले दन्तचिकित्सकले नै दन्तक्लिनिक तथा अस्पताल खोल्न सक्ने अवस्था छैन। मुख स्वास्थ्यनीति तथा फोकल प्वाइन्ट कागजमै सीमित छन्। गाउँघरमा चिकित्सक पुर्‍याउन तथा देशमै राख्ने वातावरण सिर्जना गरिएको छैन।

जिल्ला अस्पतालको कुरै छाडौं, सबै अञ्चल अस्पतालहरूमा समेत दन्त चिकित्सकको उपस्थिति तथा दन्तरोग विभाग र सेवा छैन। काठमाडौंमै आकर्षक नाममा अदक्षहरूद्वारा च्याउ उम्रेझैं खोलिएका डेन्टल क्लिनिकहरूको बाहुल्य छ, गल्लीगल्लीमा डेन्टल अस्पताल छन्। राजधानीमुखी भएकै कारण जिल्ला र गाउँका बासिन्दाले दाँतका उपचार पाउन सकिरहेका छैनन्। सक्ने त दुई हजारको उपचार गर्न १५ हजारभन्दा बढी खर्चंदै राजधानी धाइरहेकै छन्। दन्तचिकित्सक र दन्तचिकित्सा सेवा केन्द्रीकृत र सहरमुखी छन्, दाँत जँचाउन राजधानी धाउनुपर्ने बाध्यता तथा मानसिकता अध्यावधिक छ। दर्जन डेन्टल कलेज र दर्जनौं हाइजिनिस्ट कलेजबाट वार्षिक हजार जनशक्ति उत्पादन भइरहँदा पनि सेवाको पहुँच गाउँस्तरसम्म पुर्‍याउने सोच न सरकारको छ, न निजी क्षेत्रको न दन्तचिकित्सकको नै?



के शिक्षित, के अशिक्षित, के शिक्षक के विद्यार्थी, के गरिब, के धनी सबै वर्गमा नियमित दन्त परीक्षणको अनुभव देखिँदैन। असह्य पीडा, जटिलता र समस्या भएमात्र चिकित्सककहाँ पुग्ने चलन छ। दाँत भएमात्र आँत आउँछ, स्वादिष्ट भोजनबाट तबमात्रै सन्तुष्टि लिन सक्छ जब दाँत तथा मुखमा कुनै खराबी हुँदैन। रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझैं स्वास्थ्यमा पर्छ।

समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोग तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंगभंग हुनुका साथै मृत्युवरण गर्नु पर्ने पनि हुन्छ। जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ।

दाँत कीराले खाने, दन्तहर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई पछि गएर खाद्यनली र सास फेर्ने नली थिचिन गई सास फेर्न नसकी मर्न सकिन्छ।

सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसीससम्म हुनसक्छ। धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउखटिरा, रोग, फोहोर साथै सुर्तीजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवनले मुखको क्यान्सर हुने गर्दछ।

विद्यालयमा अनुपस्थितिको उक नम्‍बर कारण दाँतको दुखाइ छ। बढ्दो चिनी सेवन नै यसको प्रमुख कारण बनेको छ।र हरेक एक लाख जनसंख्‍यामा एकदेखि १० जनामा मुखको क्‍यान्‍सर छ, जुन उपचारमा सबैभन्‍दा महँगो रोगमा पर्छ।
गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्वन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्बरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात, मिर्गौला बेकम्मा हुने सम्भावना बढी हुन्छ।

दन्तलेउमा भएको ३६५ बढी ब्याक्टेरियामा केहीले दन्तसडन, संक्रमण र गिजाको रोग निम्त्याउँछ। रक्तनलीहरू माार्फत ब्याक्टेरियाहरू शरीरभित्र पुगी केही ब्याक्टेरियाले बगिरहेको रगतलाई जमाउँछन्। जन्मँदादेखि नै मुटुको समस्या भएका, बाथरोग भएका, प्रोस्थेटिक भल्भ भएका बिरामीहरूले झनै गिजा तथा मुखको सरसफाइ र दन्त उपचारमा ध्यान नदिँदा सब-एकयुट ब्याक्टेरियल इन्डोकार्डइटिस रोग निम्तिन्छ। गर्भवती महिलामा समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ।

असह्य दुखाइ हटाउन, महँगो उपचारमा नपर्न, शरीरका प्रणालीमा लाग्न सक्ने तथा भएका रोगहरूको जटिलता न्यूनीकरण र निको पार्न १४४० मिनेटको दिनमा बिहान र बेलुका खानापछि पाँचपाँच, मिनेट दन्तब्रस, मञ्‍जन र फ्लसको सहायताले दाँत सफा र अन्य समयमा सफा पानीले मुख कुल्ला गर्नुपर्दछ। नियन्त्रितरूपले हानिरहित सन्तुलित खानेकुरा सेवन गर्नुपर्दछ। तीन वर्ष पुगेपछि हरेक ६-६ महिनामा दन्तपरीक्षण गराउनुपर्दछ।

-वरिष्ठ डेन्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका निर्वाचित केन्द्रीय सदस्य तथा ओरल हेल्थ कमिटीका संयोजक हुन्।










Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template