Pages

चिनीसंगै मन्‍द बिष खाईरहेका त छैनौ हामी ?

डा. अरुणा उप्रेती:- केही हप्ताअघिमात्र विश्व स्वास्थ्य संघले चिनीका कारण स्वास्थ्यमा हुने खराबीबारे औपचारिक रूपमा बोल्यो। पछिल्लो दस वर्षदेखि धेरै जनस्वास्थ्य विशेषज्ञ, पोषणविद् र दन्तचिकित्सकले चिनीले स्वास्थ्यमा खराब असर पार्छ भन्दै आएका थिए। यो तथ्यलाई बल्ल विश्व स्वास्थ्य संघले आफ्नो मोहर लगायो। विश्व स्वास्थ्य संघले यो पुष्टि गरिरहँदा केही जनस्वास्थ्य विशेषज्ञले भने सन् २००२ मै अध्ययन गरी खानेकुरामा चिनीको भोजन निकै कम हुनुपर्छ भनेर निष्कर्ष निकालिसकेका थिए। त्यतिखेर गरिएको यो अध्ययनलाई किन यति ढिलोमात्र विश्व स्वास्थ्य संघले प्रकाशमा ल्याएको होला? ‘ब्रिटिस मेडिकल पत्रिका’ जनस्वास्थ्यको क्षेत्रमा एक प्रतिष्ठित नाम हो। यसले लेखेको छ, ‘सीधै चिनी खाँदामात्र होइन; चिनी हालेका मिठाई, फलफूलका रम, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा कीरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ।’ बेलायतका कतिपय स्वास्थ्यकर्मी त चिनीमा कर बढाएर चिनी कम खान प्रेरित गर्नुपर्छ भन्छन्। हामी नेपाली पनि त्यस्तै समस्याबाट गुज्रिँदैछौं। अहिले बालबालिकाका दाँतमा सानैदेखि कीरा लाग्न थाल्ने गरेको छ। सहरमा सायद चियामा केही कम चिनी खाइन्छ तर तराई र पहाडतिर जाँदा चियामा धेरै चिनी हाल्ने गरिएको छ। कहिलेकाहीँ सोध्नुपर्ने हुन्छ, ‘चिया बनाएर चिनी हालेको कि चिनीको पाक बनाएर चिया हालेको?’ हामीले चिनी खान्नौं भने पनि बिस्कुट, चकलेट, विभिन्न चिसो पेय पदार्थका माध्यमबाट चिनी खाइरहेका हुन्छौं। आफ्ना छोराछोरीलाई दिने यस्ता विभिन्न वस्तुले जीवनभरका लागि श्राप दिइरहेको हामीलाई हेक्का नै हुँदैन। यो समस्या नेपालमा मात्र होइन, अमेरिकाजस्तो देशमा पनि छ। जब बच्चा किशोर हुन्छन् उनीहरूलाई मोटोपनका साथसाथै मुटु र मधुमेहको समस्या सुरु भइसक्छ। मिर्गौलामा पनि समस्या हुन्छ। अहिले अमेरिकाका स्वास्थ्यकर्मी यही विषयमा चिन्तित छन्। आधुनिकतासँगसँगै धेरै कुरामा परिवर्तन आएको छ। यसको खास असर खानपान र जीवनशैलीमा परेको छ। व्यस्तताका कारण घरमै बनाएको खानाभन्दा बजारमा पाइने तयारी खानाको उपभोग बढ्दै गएको छ। पहिलेपहिलेको समयमा मानिस टाढाटाढाको बाटो पैदल यात्रा गर्न बाध्य थिए तर अहिले सवारीसाधनको प्रयोग बढ्दै गएको छ। यसले गर्दा आलस्य बढिरहेको छ। यही परिवर्तित खानपान र जीवनशैलीले गर्दा मानवजीवनमा धेरै रोग निम्तिएको छ। सबभन्दा दु:खलाग्दो कुरा के छ भने हामी सन्तानलाई माया बाँड्ने, कोसेली दिने भनेर यस्ता खानेकुरा दिन्छौं जसले पेट, मुटु अनि मिर्गौलालाई विस्तारै खराब बनाउँदै लान्छ। चिनी, नुन, बोसो आदि प्रयोग गरी बनाइएका प्याकेटका खानेकुरा खाँदा मीठो हुन्छ। अनि यस्ता खानेकुरा खाएपछि बारम्बार मस्तिष्कले त्यही चीजमा आनन्द मान्न थाल्छ। रक्सी र चुरोट खाने लत बसेजस्तै यस्ता खाना खाने नराम्रो बानी लाग्छ। यसले गर्दा घरमा प्राप्त हुने रोटी, चामल, दाल, आलु, चना पर सारेर पत्रु खाना खाइन्छ। अनि त्यो खानाले विस्तारै शरीरको भित्री भाग नष्ट पारिरहेको हुन्छ। तर, बालबालिका र किशोरकिशोरीलाई यसको हेक्का नै हुँदैन। बालबालिकालाई घरायसी खाना बनाएर दिनुको सट्टा समय बचाउने नाममा प्याकेटका पत्रु खाना दिँदा उनीहरू कुपोषणको सिकार भई बिरामी हुन्छन्। त्यसपछि कुपोषित बालबालिकाको औषधि गर्दा जुन आर्थिक खति हुन्छ, मानसिक चिन्ता हुन्छ, समयको बरबादी हुन्छ; त्यसको लेखाजोखा कसैले राख्ने गरेको छ र? यस्ता तयारी खाना खान पाउँदाको मुस्कान पछि गएर मोटोपन, मधुमेह र मुटुको रोगमा बदलिन्छ। यसका लागि सायद स्वास्थ्यकर्मी पनि जिम्मेवार छन्, जो कुपोषण भएका बालबालिका स्वास्थ्यचौकीमा आउँदा बजारिया खानेकुरा पनि यसका कारण हुन् भन्ने गर्दैनन्। अनि घरायसी स्वस्थकर खानाबाटै पर्याप्त पोषण दिन सकिन्छ भनेर पनि उनीहरू बताउँदैनन्।

No comments:

Post a Comment