सिंगो गाउँ सुनकोशीमा पुरिँदा ७ भाइ कसरी बाँचे ? - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » सिंगो गाउँ सुनकोशीमा पुरिँदा ७ भाइ कसरी बाँचे ?

सिंगो गाउँ सुनकोशीमा पुरिँदा ७ भाइ कसरी बाँचे ?

मात्रिका पाैडेल २२ साउन, सादीगोल (सिन्धुपाल्चोक) । मांखाको कागुने डाँडा र राम्चेको भट्टेडाँडालाई छुट्याउने सानो खोल्सी छ साँदीखोला । साउन १६ को मध्यरातमा भट्टेडाँडाबाट झरेको विनाशकारी पहिरोले साँदीखोलासँगै कागुने सिरानका २२ घरलाई एकै निमेषमा सुनकोशीमा हुत्याइदियो । २२ घरका ७१ जनाले ऐया भन्न समेत पाएनन् । जम्मा ७८ जना बसोबास गर्ने त्यो टोलका ७ जना पुरुष भने बाँच्न सफल भएका छन् । यो विनाशलिलामा परेर प्रायः धेरै परिवारको वंशानाश भयो । तर यी सात जना भने त्यस दिन संयोगवश घर बाहिर रहेकाले बाँच्न सफल भएका हुन् । ‘हामी कोही गाडी चलाउन बाहिर थियौं, कोही काम विशेषले नातागोताकोमा पाहुन गएका थियौं’ परिवारका ९ जना गुमाएका राम तामाङले अनलाइनखबरसँग भने ‘गाउ लग्यो रे भन्ने खबर सुनेर आउदा सर्वसश्व लगिसकेछ’ ।Seven-Brother गरिखाने केही छैन सबै गुमाएर पनि संयोगले बाँचेका यी सात जना अहिले सशस्त्र प्रहरीले स्थापना गरेको विस्थापित क्याम्पमा छन् । तर अब फर्केर जाने ठाउँ भने छैन । पहिरोले घर, परिवारसँगै गरिखाने खेतवारी पनि नामोनिशान नराखी सुनकोशीमा समाप्त पारिदियो । ‘मर्ने त सँगै मरिहाले हामी मर्न नसकेकाहरु अब कसरी बाँच्ने ?’ बाँच्नेमध्येका अभिभावक रामवहादुर लामाले भने । सरकारले दिने भनेको ४० हजार रुपैयाले तामाङ संस्कार अनुसार काजकिरिया गर्नै पुग्दैन । अझ उनीरुको लागि चिन्ताको कुरा त काजकिरिया गर्ने ठाउँ समेत छैन । ‘भएको घर, खेत सबै लगिसक्यो अब टेक्ने जमिन र खाने गाँस छैन कहाँ बसेर काजकिरिया गर्ने ?’ यी सात जनाको सामुहिक प्रश्नको उत्तर अहिलेसम्म कसैले दिनेको सकेको छैन । पुनर्वासको माग सशस्त्र प्रहरीको ब्यारेकभित्र खटाएर दिएको पाउरोटी र चाउ चाउ खाएर कति बस्ने भन्ने छलफल उनीहरुबीच चलिसकेको छ । ‘हामीलाई तत्काल गाँसबासको व्यवस्था गरेर दीर्घकालिन रुपमा व्यवस्थित बसोबास गरिदिए हुन्थ्यो अरु केही चाहिदैन’ ५६ वषर्ीय रामवहादुर लामाले भने । यो बस्तीका प्रायः सबै परिवारलाई लगभग वर्षदिन खान पुग्ने खेतबारी थियो । तर अहिले एक सुर्को पनि बाँकी छैन । माइती सबै गुमाएका चेलीहरु पनि वारीपारी गाउँबाट यिनीहरुलाई भेट्न र लास भने पनि देख्न पाइन्छ कि भनेर यहाँ आएका छन् । बाबुआमा, दुई दाजु र तीन बहिनी पहिरोमा पुरिएपछि एक्लो सन्तान बाँकी रहेकी शशिकला तामाङ विहे गरेर घर गएकाले बाँचेको बताउछिन् । ‘सबैजना सकिए, काजकिरिया गरिदिन पाए आत्माले शान्ति पाउथ्यो भनेर यहाँ आएकी’ उनले भनिन् । pidit-women माइतीको शव खाेज्न घटनास्थल पुगेका चेलीहरू । बाँच्नेमाथि बिभेद ? यो गाउँबाट बाँच्ने सात जनामा राम तामाङ, सुवास तामाङ, रामवहादुर लामा, बुद्ध लामा, कुमार लामा, वीरवहादुर तामाङ र कृष्ण तामाङ एकै ठाउँमा छन् । उनीहरु अब मरे पनि बाँचे पनि सातजना सँगै रहने बताउछन् । ‘हामी बाउबाजेहरु सँगै बसे, अहिले सबै परिवार बिछोडिएपछि पनि हामी अलग्गिन चाहदैनौं’ वीरवहादुरले भने । उनीहरु राज्य पक्षले राहत र पुनस्र्थापनामा आफूहरुलाई वास्ता नगरेको बताउछन् । ‘बजार क्षेत्रका र तल्लो भेगका मान्छे प्रायः सबैको काठमाडौंमा घर छ हाम्रो त सर्वस्व गयो’ राम तामाङले भने ‘तर सरकारी मान्छेहरु तलतलै जान्छन् हामी केही नभएकालाई वास्ता गर्दैनन्’ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सबै पीडित र विस्थापितहरुको लगत संकलन गरिरहेको जानकारी दिए । उनले भने ‘सबैको लिष्ट बनाएपछि विस्थापितहरुको वर्गीकरण गरेर कसको लागि के आवश्यक छ त्यहि अनुसार पहल गछौंं भेदभाव हुदैन’ । तस्वीर : श्रीधर पाैडेल




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template